फाइल फोटो
हेटौँडा । नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व मन्त्री योगेश भट्टराईले नेकपा एमालेबाट चोइटिएर बनेको माधव नेपाल नेतृत्वको एकिकृत समाजबादीले एक्ले निर्वाचनमा भाग लिएको अवस्थामा एक सिट पनि नजित्ने बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिकामा भएको गाउँकमिटिको सपथग्रहण कार्यक्रममा बोल्दै सचिव भट्टराईले माधव नेपालको पार्टीसँग एक्लै चुनाव उठेर एक सिट पनि जित्ने ल्याकत नभएको बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका भट्टराईले नेकपा माओवादी केन्द्रको पनि अवस्था नाजुक रहेको बताए ।
अहिले माओवादी अध्यक्ष प्रचण्ड पनि कांग्रेससँग सिट माग्दै हिडेको बताउँदै नेकपा एमाले मात्र एक्लै चुनाव लडेर पहिलो शक्ति बन्ने हैसियतमा रहेको उल्लेख गरे । उनले भने ‘अहिले प्रचण्ड र नेपालहरु कांग्रेसँग तालमेल गर्छौ भन्ने हिडिरहेका छन, तर कांग्रेसले त्यो काम गर्दैन, कांग्रेसले कतिजनालाई सिट बाढ्दै हिडोस र ? ’ माओवादी र समाजवादीको जग नभएको कांग्रेसलाई थाहा भएको भन्दै उनले जग नभएको घर कतिबेला ढल्छ थाहै नहुनेबताए ।
आफुहरुले माधव नेपाललाई पटक–पटक पार्टी विभाजन गर्ने अपराध नगर्नुस, त्यो पार्टीको लागि र तपाईको ब्यक्तिगत र राजनीतिक जीवनको लागि पनि राम्रो हुँदैन भन्दा पनि उहाँले अपराध गरेको भन्दै आफुहरुले पार्टी विभाजनकारीलाई साथ दिन नसकेको स्पष्ठ पारे । नेकपा एमालेले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर हजारौ नागरिकको हत्या हुनबाट जोगाएको उल्लेख गर्दै उनले नेपालमा एउटा मात्र कम्युनिष्ट शक्ति रहने र त्यो एमाले भएको उल्लेख गरे । मंसिर १० गतेबाट चितवनमा हुने १० औँ राष्ट्रिय महाधिवेशनबाट पनि सर्वसम्वत नेतृत्व चयन हुनेमा आफुहरु विश्वस्त रहेको भन्दै भट्टराईले भने ‘देशको सबै जिल्ला र संघ संगठनबाट सर्वसम्वत प्रतिनिधि चयन भएका छन, त्यसैले हामीलाई नेतृत्व पनि सर्वसम्वत चयन गर्न दबाब छ, हाम्रो अध्यक्ष कमरेड पनि सोहि कुरामा चिन्तित हुनुहुन्छ ।
’ कार्यक्रममा नव गठिन नेकपा एमाले मनहरी गाउँपालिका कमिटिको सपथ ग्रहण समेत गराईएको थियो । नविन सुवेदीको अध्यक्षतामा बनेको कमिटिको सपथ ग्रहण भट्टराईले गराएका हुन् । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर राना, एमालेका बागमती प्रदेश सदस्य एकराज उप्रेती, एमाले मकवानपुर सचिव एकालाल श्रेष्ठ, प्रदेश सदस्यहरु सुन्तली चेपाङ, भोजराज ढकाल लगाएतको सहभागिता रहेको थियो ।








