चितवन । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवन जिल्लाको अधिवेशन स्थगित भएको छ । बारम्बार मिति परिवर्तन भएको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको हो । चितवनमा हुने नेकपा एमालेको १० औं महाधिवेशनका कारण अधिवेशन स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले जानकारी दिए । एमाले महाधिवेशनको उद्घाटन भोलि (शुक्रबार) नारायणी नदी किनारमा हुँदैछ ।
एमलेको महाधिवेशनका कारण स्थानीय प्रशासनले बिहान ९ बजेदेखि साँझ ५ः३० बजेसम्म सवारी साधनमा रोक लगाएको छ। प्रशासनले सवारी साधनमा रोक लगाएकोले उम्मेदवारहरुलाई मनोनयन दर्ता र मतदाताहरुलाई मतदान स्थलसम्म पुग्न समस्या हुने देखिएकोले अधिवेशन स्थगित गरिएको हो । “एमालेको महाधिवेशनका कारण सवारी साधनमा रोक लगाईएकोले उम्मेदवारहरुलाई मनोनयन दर्ता र मतदाताहरुलाई मतदान स्थलसम्म पुग्न समस्या हुने भन्दै काँग्रेस जिल्ला कार्यसमितिको निर्णय अनुसार भोलिको मनोनयन दर्ता कार्यक्रम स्थित गरिएको हो ।
अरु कारण केही होइन, उनले भने, टाढाबाट आउने उम्मेदवारहरु होटलमा बस्नु पर्ने हुन्छ तर होटल सबै बुकिङ भइसकेको छ ।” ११ गतेको मतदान प्रक्रिया पनि स्थगित गर्ने बारे केन्द्रीय निर्वाचन समितिको निर्णय बमोजिम नै गरिने निर्णय गरिने उनले बताए । “अहिलेलाई भोलिको कार्यक्रम मात्र स्थित भएको हो, उनले भने, बाँकी कुरा मैले पनि केन्द्रीय निर्वाचन कार्यालयमा छलफल गर्नुपर्छ ।” स्थगित भएको अधिवेशन प्रदेश अधिवेशनपछि हुने सम्भावना छ ।
काँग्रेसको प्रदेश अधिवेशन १५ गते हुँदैछ । स्थगित भएको अधिवेशन कहिले हुन्छ त भन्ने प्रश्नमा उनले भने, “प्रदेश अधिवेशन १५ गते छ । त्यसअघि जिल्ला अधिवेशन गर्न सक्ने अवस्था छैन । प्रदेशको पछि हुन्छ । केन्द्रीय समितिको निर्णय अनुसार हुन्छ ।” काँग्रेस चितवन सभापतिका लागि अहिलेसम्म चार जनाले औपचारिक रुपमा सभातिको उम्मेदवारी घोषणा गरिसकेका छन् ।








