हेटौंडा । कोरोना संक्रमणले देशभरि असर पारिरहेको छ । एउटा व्यक्तिले कोरोना जित्दा उ र उसको परिवार मात्रै नभई सिंगो समाजले आशा गर्ने बेला रहेको छ ।
१४ दिन अस्पताल बसेर कोरोना जितेका एक जनाको दुर्घटनाबाट मृत्यु भएको छ । ‘कोरोना जितेर घर फर्कँदै छु’ भनेर खबर गरेका बागमती–४ सर्लाही घर भएका जितबहादुरको दुर्घटनाबाट ज्यान गएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११ नवलपुरमा बिहीबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा ६६ वर्षका जितबहादुर थिङको मृत्यु भएको हो । चितवनमा उपचार गरेर एम्बुलेन्समा घर फर्कँदै गरेका जितबहादुर थिङको दुर्घटनामा परी मृत्यु भएको हो ।
बागमती प्रदेश ०१–००२५ च ३६३८ नम्बरको एम्बुलेन्सले ना ६ ख ४३८० नम्बर ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ । एम्बुलेन्स चालकसहित एम्बुलेन्समा सवार अन्य २ जना घाइते भएका छन् ।
उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । उनको विहिबार बिहान साढे चार बजेको समयमा हेटौंडाको नवलपुरमा एम्बुलेन्स दुर्घटनामा परेको हो ।








