हेटौंडा । मकवानपुर प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्ने विभिन्न २१ वटा सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी निषेधाज्ञा उल्लङ्घन गर्ने स्कुटर, मोटरसाईकल र अटो गरी २१ वटा सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालका अनुसार, उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी चेकिङ टोलीले जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिई कारबाही गरेको हो । साथै प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्ने ६४ वटा सवारीसाधनको कागजपत्र र निषेधाज्ञा उल्लङ्घन गरी पसल संचालन गर्ने २ जनालाई पनि नियन्त्रणमा लिई कारबाही गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम २१ वटा सवारी साधन र पसल संचालन गर्ने दुई जना व्यक्तिलाई नियन्त्रणमा लिई जिल्ला प्रसाशानमा पठाइएकोमा जनही २ देखि ५ हजार रुपैयाँका दरले जरीवाना गरिएको छ ।








