हेटौंडा । भीमफेदी गाउँपालिका ५ सुपिङ्गका रामकुमार पुडासैनी विहानै उठ्छन । घरमा भएको एउटा दुहुनो भैसी दुन्छन् र घरबाट १५ मिनेटको फरकमा रहेको डेरीमा दुध लान्छन् । दुध डेरीमै काम गर्ने उनी साढे एक वर्ष साउदी र त्यति नै समय कतार समेत बसे ।
विदेश रहला विरामी भएपछि नेपाल आएका उनी आजकल गाउँकै डेरीमा काम गर्दछन् । डेरीबाट मात्र आम्दानी गर्ने उनको घरमा अहिले एउटा दुहुनो भैसी समेत रहेको छ । एकतिर मात्र आम्दानीको स्रोत रहेकोमा अहिले दैनिक ७,८ लिटर दुध दिने भैसी थपिएको छ । विदेशमा रहदा डेरीमै काम गरेका उनको भैसी पालन गर्ने रहर रहेको थियो ।
उनको रहरमा भीमफेदी गाउँपालिकाले सहयोग गरेको छ । भीमफेदी गाउँपालिकाको आन्तरिक तर्फको भैसी पालन अनुदान कार्यक्रम अन्तर्गतको ३५ लाखको बजेटबाट भीमफेदीको ५ नम्बर वडा र ९ नम्बर वडालाई दुध पकेट क्षेत्र बनाउने योजना अनुरुप ८० जना किशानलाई दुहुनो भैसीमा गाउँपालिकाले ४० हजारका दरले अनुदान दिएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए । किसानलाई व्यावसायिक बनाउन र कृषि पेशातर्फ आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।
गाउँपालिकामा रहेका किशानहरुको जीवनस्तर उकास्नका लागि यो अनुदान सहयोग गरिएको अध्यक्ष लामाले बताए । उनले भने ‘हामीले ८० किशानलाई ४० हजारका दरले अनुदान दिएका छौ । यस्तो योजनाबाट किशानको हातमा नगद आउने साथै यो योजना निरन्तरताबाट उक्त क्षेत्रलाई दुधको पकेट क्षेत्र बनाउने योजना रहेको छ ।’ गाउँपालिकाले भैसी खरीदका लागि ऋणको लागि सहकारी र बैकसंग सहजीकरण गर्ने समेत लामाले बताए ।
अहिलेसम्म ८० वटा भैसीमा ५ नम्बर वडाका २८ जना किशानले लाभ लिईसकेको र ९ नम्बर वडाका ३२ जना किशानले लाभ लिएको र बाकी चाडै ८० जनाले नै लिने अध्यक्ष लामाले जानकारी दिए । उक्त अनुदानमा अझै रमक बढाएर व्यवसायीक भैसी पालन गर्न सकिए अझै राम्रो हुने कृषक रामकुमार पुडासैनीले बताए । यो भैसी पालन व्यवसाय सजिलो र ठाउँको हिसावले सुपिङ्गमा उपयुक्त पनि रहेको पुडासैनी बताउछन् । त्यस्तै अनुदान प्राप्त गर्ने अर्का कृषक कृष्ण बहादुर विकले उक्त भैसीबाट घरखर्च धान्न सहयोग पुगेको बताए ।
आम्दानीको स्रोत नरहेको समयमा गाँउपालिकाको अनुदानमा किनेको भैसीको दुध गाउँमा बेचेर घर व्यवहार धान्न सहयोग गरेको विकले बताए । गाउँपालिकाले अनुदानको रकम बढाए अझै सजिलो हुने उनले बताए । गाँउपालिकाको भैसी पालन अनुदान कार्यक्रम अन्तर्गतको ३५ लाखको बजेटमा हालसम्म २४ लाख खर्च भएको पशुसेवाका प्रमुख विमल ढुङ्गानाले बताए ।
उनका अनुसार भैसी खरिद गर्दा दुहुनो हुनुपर्ने साथै एक लाख रुपैया भन्दा माथि मुल्यको हुनुपर्ने रहेको बताए । भैसीले दैनिक ३ लिटरभन्दा बढि दुध दिनपर्ने मापदण्ड रहेको ढुङ्गानाले बताए । गाउँपालिकाले पशुपालनलाई टेवा पुगोस भनेर घाँस वितरण समेतख गरिरहेको छ ।








