काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा आठ वटा समूहका टोली नेताले आ–आफ्नो समूहगत रिपोर्ट पेस गरेका छन् । शनिबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा छलफलका लागि तोकिएका सात वटा प्रदेशका टोली नेता र एउटा सङ्गठन विशेष गरी आठ वटा समूहका नेताहरूले समूहगत रिपोर्ट पेस गरेका हुन् ।
उनीहरुले पार्टीको सो नीतिलाई कार्यान्वयन गर्दै अघि बढाउनुपर्नेमा जोड दिएका छन् । साथै समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्दै टोली नेताहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे प्रष्ट पार्न पनि माग गरेका छन् ।
शनिबारको बैठकमा प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमा एक वाक्यमा भनिएको थियो ‘एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीतिअनुसार कूटनीतिक संवादका माध्यमबाट हल गर्न प्रयत्न गरिनेछ ।’
सबै टोली नेताले रिपोर्ट प्रस्तुत गरेपछि त्यसबारे थप छलफल गरेर निर्णय लिन स्थायी कमिटी बैठक बसेको छ । समूहगत रिपोर्टको जवाफका विषयमा छलफल भएपछि केही बेरमा फेरि केन्द्रीय कमिटीकाे बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।








