हेटौंडा । हेटौँडा उपमहानगरपालिकाभित्र निषेधाज्ञामा कोभिड बिरामीलाई ओसारपसार गर्न सञ्चालनमा ल्याइएको अटोएम्बुलेन्सले सर्वसाधारण मानिस बोक्न थालेपछि स्थानीय प्रशासनले कारबाही गर्न थालेको छ ।
कोभिड–१९ का बिरामी बोक्ने गरी सञ्चालनमा आएका अटो एम्बुलेन्सले पनि दुरुपयोग गरी अन्य मानिस बोक्न थालेपछि जिल्ला प्रशासनले त्यस्ता अटोलाई कारबाही गरेको हो । यसैक्रममा जिल्ला प्रशासन कार्यालयले हेटौँडा–१९ वडाका निम्ति अटो एम्बुलेन्सको रूपमा अनुमति दिएको ना २ ह १०५९ नम्बरको अटो र चालकलाई शनिवार प्रहरीले नियन्त्रणमा लिएको छ ।
अनुगमन टोलीले हेटौँडा–१० बसपार्कमा खाद्यान्न र बिरामी नभएका मानिसहरू बोकेको अवस्थामा सो अटोलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपाने र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटा नेतृत्वको संयुक्त अनुगमनबाट केही अटो एम्बुलेन्सले दुरुपयोग गरेको पाइएकाले कारबाही गरिएको टोलीले जनाएको छ ।








