हेटौंडा । मकवानपुर प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले जानकारी दिए ।
प्रवक्ता रिमालका अनुसार, निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाईकल, स्कुटर गरी ८ वटा सवारीसाधनलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जनही रु २ हजारदेखि ५ हजार रुपैयाँका दरले जरिवानासहित कारबाही गरिएको हो । त्यस्तै प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्ने २७ वटा विभिन्न सवारीसाधनको कागजपत्र नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
साथै प्रहरीले निषेधाज्ञा उल्लंघन गरी हेटौँडा उपमहानगरपालिका वडा नम्वर २ मा रहेको भाडा पसल र वडा नम्वर १० मा रहेको कपडा पसल संचालन गर्ने दुई जनालाई नियन्त्रणमा लिई जिल्ला प्रसाशन कार्यालयमा पठाइएकोमा जनही ५/५ हजार रुपैयाँ जरीवाना गरिएको जनाएको छ ।








