हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरबाट आज एकजना संक्रमित कोरोना जितेर घर फर्कनुभएको छ । आइसोलेसनका संयोजक भुवनलाल श्रेष्ठको अनुसार संचालन हुनु अगाडीनै संक्रमित हुनुभएको मनहरीगाँऊपालिका—४ की सन्तोषी गौतमको स्वास्थ्य अबस्था स्वस्थ रहेको र उहाँको कोरोना परिक्षणको नतिजा आएको पनि १४ दिन पुरा भैसकेकोले डिस्चार्ज गरिएको हो ।
आइसोलेसनबाट बिदाई हुंदै गर्दा गौतमले भन्नुभयो“यहाँ आउनु अगाडी म एकदमै आत्तिएको थिए मर्ने डर धेरै थियो तर यहाँ आएर हेर्दा सुरुमै अक्सिजन सिलन्डरमा आँखा प¥यो त्यसपछी नर्स र डाक्टरले आफ्नै परिवारको स्याहार गरेजस्तो गर्दा त मरिदैन भन्ने पक्का भयो ।” आइसोलेसनको बसाई घरको जस्तो रहेको र सबैले आफ्नो पुर्ण ख्याल राखेको भन्दै उहाँले जानेबेलामा सबैमा धन्यबाद ब्यक्त गर्नुभयो । चौबिसै घण्टा नर्सको रेखदेख बिहान बेलुका चिकित्सकको स्वास्थ्यजाँच र सबैले दिएको हौसलाले आफ्नो आत्मबल बढाएको उहाँको भनाई थियो ।
पौष्टिक खाना, फलफुल र दबाईसंगै आइसोलेसन संचालकहरुको हौसलाले आफुलाई मर्ने डर मनमा नै नआएको उहाँले बताउनुभयो । कोभिड हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले स्वास्थ्यकर्मी संगै आफुहरु पनि बिहान ७ बजेदेखी राती १० बजेसम्म आइसोलेसन तथा संक्रमितको घरदैलोमा रहेको जानकारी दिनुभयो ।
हाल आइसोलेसनमा २३ जना संक्रमित रहनुभएको आइसोलेसनका संचालक सदस्य सरोज खनालले बताउनुभयो । उहाँले हेटौंडा अस्पतालको एक नर्स समेत यहाँ रहनुभएको जानकारी दिनुभयो । कोभिड हेल्प डेस्कबाट दैनिक कोरोना संक्रमितलाई परामर्शको साथै टेलिफोनबाट हालखबर बुझ्ने, स्वास्थ्य सामग्री र पौष्टिक आहार बितरण जस्ता कार्य भैरहेको जनाइएको छ ।








